Pages

4.13.2013

नव बर्ष २०७० सालको शुभकामना !!!

नयाँ बर्ष बिक्रम सम्बत २०७० शुरु हुन लाग्दै छ । हुन त नेपालमा शुरु पनि भईसक्यो । आफु झण्डै ५ घण्टा पछाडी भएकोले मात्रै अझै पनि Eve” कै मुडमा छु । यतिखेर म अघिल्लो बर्ष २०६९ लाई स्वागत गर्दाको क्षणहरुलाई सम्झदै छु । एक दर्जन साथिहरु मिलेर २०६९ लाई स्वागत गर्न हामी काठमाडौ उपत्यकाबाट नजिकै चिसापानी पदयात्रामा गएका थियौ । दिनभरको थकानलाई वास्ता नगरी नाचगान र मधुपानमा झुमेका थियौ । अहिले यसो सम्झेर ल्याउदा त बढो रमाईलो पो गरिएको रै’छ त ! खै कस्तो खालको मानबिय स्वभाब हो, सम्झनाका पोकाहरु फुकाउदा ति यादहरु असरल्ल भएर अझ बढि रमाईला, आनन्ददायक र रोमाञ्चक पो लाग्ने गर्छन । अरुलाई कस्तो महशुस हुने गर्छ कुन्नि, म भने ति असरल्ल यादहरुलाई हेरे अलि धेरै नै रम्ने गर्छु र फेरि सँगाल्दै पोको पार्ने गर्छु। 



देशमा छउन्जेल परदेशको कत्रो शान थियो । परदेशमा गएर अध्ययन गर्न पाए म यस्तो गर्दो हुँ, उस्तो गर्दो हुँ भन्ने सोचिन्थ्यो । तर परदेशिनुको पिडा भने यस्तो बिभिन्न अबसरहरुमा महशुस हुन्छ । बितेका दशै र तिहार कति नरमाईला भए । यसैपालीको दशै र तिहारले बालककालदेखिका सम्झनाका कुईनेटाहरु खोतल्न सहयोग गरे। त्यतिखेर मैले महशुस गरेको थिए, म कति नजानिदो पाराले ति बालसुलभ खुशिहरुबाट टाढा भईसकेछु भनेर । अँ म त नबबर्षको पो कुरा गर्दै थिए । केहि पनि उल्लेख्य गरिएन नियमित दैनिकी भन्दा सिबाय । ममता बहिनीले यसो साँझमा भेटौ न बारमा, केहिबेर गफगाफ गरौला भनेकोले साथि जोनि, म र ममता एकछिन गफिदै बस्यौ । त्यो पनि सबै पढाई लेखाई को बारेमा केन्द्रित थिए । दुर्हाम शहर आफैमा सानो ठाँउ छ । यहाँ पुरै विश्वबिध्यालयका बिध्यार्थिले भरेका छन् र शहरलाई चलायमान बनाएका छन् । ईष्टरको छुट्टिमा घर गएका बिध्यार्थीहरु फर्कि नसकेका हुनाले शहर शान्तप्राय छ र कलेज पनि । त्यसैले बारमा खासै भिडभाड छैन । हुन त आज शनिबार भएकोले अन्य दिनभन्दा चहलपहल भने चै छ। अचम्मको सँस्कृति छ यिनिहरुको, सबैजना बार वा पबमा भेट हुने र केहि ड्रिङ्कको साथमा गफिदै बस्ने । मलाई राम्रोसँग याद छ, काठमाडौको रेस्टुरेण्ट र बारमा वेटरले बेला-बेलामा केहि चाहियो कि भन्दै सोधेको र अब केहि नलिने हो भने गईदिए हुन्थ्यो जस्तो ब्यबहार गर्ने गरेको । यहाँ भने अचम्म छ, केहि वास्ता नै गर्दैनन् । 
 
 
सदाको बर्ष झै यो बर्ष पनि केहि “न्यु ईयर रिजोलुशन” बनाईएन । खासमा भन्नुपर्दा मलाई यस्तो कुरामा बिश्वास नै लाग्दैन । गर्ने पर्ने हो र गर्ने नै हो भने जहिले शुरु गर्दा पनि हुन्छ, आबश्यक्ता अनुसार । यसर्थ, केहि ब्यक्तिगत ईच्छा भने छैन् । तर कहिलेकाँहि देशका समाचारहरुले नजानिदो किसिमको नैराश्यता भने ल्याउदो रै’छ । हुनसक्छ मातृभुमिबाट लामो समय बाहिर रहेनु परेकोले यस्तो भएको होला । तर देश प्रतिको जिज्ञासा भने झन बढ्दो रै’छ । फेरी एक अतिकम बिकसित मुलुकको नागरिक भएर भोग्नु परेको पिडा पनि त्यसको जिम्मेवार होला । अझ कक्षाकोठा हुने बहस र तर्क-बितर्क हरुमा बिकसित मुलुकको ब्यक्तिहरुले ब्यक्त गर्ने धारणा त छदै छन् । यस्तै तर्कनाहरु आईरहेका छन् मनमा । बाहिर जोडसँग हावा बत्तिदै छ। अनि त्यसैगरि यावत कुराहरु खेल्दै छन् मनमा । जे जस्तो हावाहुण्डरी चले पनि २०७० मा मेरो देशले अग्र गतिको बाटो समातोस् अनि हामि नागरिकले पनि आफ्नो शीर उँचो गरेर हिड्न पाईयोस। शान्ति।

सबैलाई नयाँ बर्ष २०७० सालको हार्दिक मँगलमय शुभकामना ।।।

अघिल्लो बर्षको यात्रा चै यता छ : नयाँ बर्ष २०६९ - चिसापानी हाईकिङ

4 comments:

  1. Well written Raj..Keep on posting articles like this.
    Happy New Year

    ReplyDelete
    Replies
    1. Thanks alot Bimal. I will try my best. Happy New Year 2070. :)
      Cheers,

      Delete
  2. एक लाइक मेरो तर्फबाट

    ReplyDelete